रौतहट //रौतहटमा निर्दोष पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरिएको प्रकरणमा संलग्न भएका प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाइने भएको छ ।
शाहको संलग्नताबारे छानविनका लागि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको हो ।
शाहको ठाउँमा नयाँ एसपी पठाउने प्रहरी प्रधान कार्यालय, नक्सालले तयारी गरेको छ ।
छानविनका लागि वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण महतको नेतृत्वमा ४ सदस्यीय समिति समेत बनाइएको छ ।
समितिमा कानूनी शाखाका डीएसपी ज्ञानेन्द्र बस्नेतलगायत सदस्य रहेका छन् ।
प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाह निलम्बनमा परिसकेका छन् ।
प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो ।
कुराकानीको सुरुवातमा उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका थिए ।
यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।
समितिले पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाइएको घटनामा एसपी शाहको संलग्नता रहे नरहेकोबारे छानविन गरेर प्रहरी महानिरीक्षकलाई प्रतिवेदन बुझाउने बताइएको छ।