बिर्तामोड / एका बिहानै झापाको कनकाई नगरपालिका १ मा नाबालिका सहित एकै परिवारका तीन जना मृत भेटिएको खबर आएपछि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यसहितको टोली घटनास्थल पुग्यो।
घटनास्थलमा रहेका आचार्यलाई घटनाबारे विवरण माग्दा ‘घटना अत्यन्तै हृदयविदारक छ’ भन्ने जवाफ आयो।
उनले थप स्पष्ट पार्दै भने, ‘बुवा (आमा र सानी छोरी सबै झुन्डिएको अवस्थामा छन्। छोरीलाई आमाले बोकेकी छिन्।’ कतिपय स्थानीयबासीले ८ महिनाकी नाबालिक छोरीले झुन्डिनसक्ने अवस्था नरहेकाले उनको हत्यापछि बुवा (आमाले आत्महत्या गरेको आशंका गरेका छन्।
त्यसरी एउटा परिवारले नै कसरी यहाँसम्मको निर्णय लिन पुगे भन्ने सबैतिर कौतुहलको विषय बनेको छ। प्रहरीले पनि उक्त घटनाको सूक्ष्म अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक आचार्यले जानकारी दिए।
३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र ८ महिनाकी छोरी झुन्डिएको अवस्थामा सोमबार बिहान फेला परेका थिए।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलका अनुसार रविन विकको घरमा केही दिनदेखि पैसा माग्न आउनेहरूको लाम लाग्ने गरेको थियो। वैदेशिक रोजगारीमा मानिस पठाइदिने एजेन्टको काम उनले गर्ने गरेको बताइएको छ।
नगरप्रमुख पोखरेलले भने, ‘अहिलेसम्म मैले बुझ्दा आर्थिक लेनदेनको तनावका कारण परिवारले नै त्यस्तो निर्णय लिन पुगेको हुनसक्छ। पछि अनुसन्धानबाट थाहा लाग्ला अन्य कुरा।’
वैदेशिक रोजगारीमा पठाउन युवालाई मेनपावर कम्पनीहरूसँग सम्पर्क गराउँदै आएका विक पैसाको ताकेताले नै आत्महत्या गर्न बाध्य भएको स्थानीय बासीले पनि अनुमान गरेका छन्।
कोभिड भएर घरमा बसेका विकले ताकेता थाम्न नसकेकाले आत्महत्याको बाटो रोजेको हुनसक्ने उनीहरूको अनुमान छ।