रौतहट / पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जनालाई  रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरज यादव र जितेस कुमार यादव रहेका छन् । 

रौतहट प्रहरीले साउन ३२ गते रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहलाई लागूऔषध नाइट्राभेट सहित पक्राउ गरेको थियो ।

OM Sai Pathibhara Hospital

प्रहरीले हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालेको थियो । पक्राउ परेका यादवद्धयले मोटरसाइकलमा लागूऔषध ट्याबलेट राख्दै गरेको सीसीटीभी फुटेजमा देखिन्छ  

पत्रकार मोजिबुल्लाहलाई फसाउन नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनी, जिल्ला प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहको संलग्नता रहेको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा दुई जनालाई पक्राउ गरिएको र गैरव्यावसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको बताएका छन् ।

घुमुवाकै योजनामा नाटकीय ढंगले पक्राउ गरिएका पत्रकार माेजिबुल्लाह लागूऔषधको कारोबारमा संलग्न भनेर प्रहरीले प्रचार गरेको थियो । मोजिबुल्लाको साथै मोटरसाइकल चलाउने सहकर्मी राजपुर नगरपालिका –७ का शेख गुलाबलाई समेत पक्राउ गरेर हिरासतमा राखिएको थियो ।