रौतहट// रौतहटमा प्रहरी स्वयमले एकजना संचारकर्मीको मोटरसाइकलमा  लागूऔषध राखेर फसाउने प्रयास गरेको सार्वजनिक भएको छ।

सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीले लागूऔषध राखेको रहस्य खुलेको हो।

OM Sai Pathibhara Hospital

गत श्रावण ३२ गते जिल्ला सदरमुकाम गौरबाट प्रहरीले बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागूऔषध १ सय ५ थान नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा राजपुर नगरपालिका -७ बस्ने शेख गुलाब भन्ने शेख अतिउल्लाह र संचारकर्मी ईशनाथ नगरपालिका -८ का  मोहम्मद मोजिबुल्लाह रहेका थिए । 

उक्त घटनाको सीसीटीभी फुटेज आज शनिबार सार्वजनिक भएपछि प्रहरीको संलग्नता खुलेको हो।

मोजिबुल्लाह पक्राउ पर्नुभन्दा केही समयअघि आफ्ना साथीसंग होटेलमा खाजा खान गएका बेला प्रहरी सहायक निरीक्षक यादव तथा प्रहरी जवान मनोसाहको प्रत्यक्ष उपस्थितिमा दुई युवाले मोटरसाइकलमा लागुऔषध लुकाउँदै गरेको दृश्य सिसि फुटेजमा प्रष्ट देखिएको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले गौर नगरपालिकाको सभाहलमा सञ्चारकर्मीहरु माझ त्यस दिनको फुटेज सार्वजनिक गरेका हुन् ।

पार्किङ्ग गरेर राखेको मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीले नै लागूऔषध राखेको कुरा फुटेजमा प्रष्ट  देखिएपछि  नेपाल पत्रकार महासंघ रौतहटले गम्भीर आपत्ति जनाएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै प्रहरीकै मिलोमतोमा लागूऔषध राखेर निर्दोष व्यक्तिलाई फसाएको भन्दै महासंघले आपत्ति जनाएको हो।

लागू औषध घुमुवा प्रहरीले नै राखेको कुरा सीसीटीभी फुटेजबाट प्रष्ट देखिएकोले निर्दोष देखिएका दुवै जनालाई तत्काल रिहाइ गर्न र यस घटनाको सत्य तथ्य छानबिन गरि संलग्न प्रहरी तथा अन्य सबैलाइ कडा कारबाही गर्न  महासंघले माग गरेको छ।

निर्दोष दुबै जनालाई रिहा नगरे कानूनी राज्य विधिको शासन, मानव अधिकारको पक्षमा रही चरणबद्ध आन्दोलनमा उत्रने विज्ञप्तिमार्फत  चेतावनी समेत दिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमरियाले भने यस विषयमा अहिले कुनै प्रतिक्रिया नदिने बताएका छन्। अनुसन्धान पुरा भएपछी मात्रै यस विषयमा बोल्ने धारणा बताएका हुन्।