विर्तामोड (अन्नपुर्ण पोस्ट दैनिक बाट )//बिरामीको नाममा चन्दा उठाउने ३ जना झापाली पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका -९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर -१ का ३२ वर्षीय टेकबहादुर बस्नेत र झापाकै हल्दीबारी गाउँपालिका -१ का ४४ वर्षीय धनबहादुर सेन्चुरी रहेका छन्।
प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेर ३ पांग्रे टेम्पु भित्रन पहिलेदेखिनै रोक लगाइएको पोखरा सहरमा ट्यक्सी, मोटरसाइकल, कार र बसहरु मात्रै गुड्ने गरेका छन्।
यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिन थालेको थियो। तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो ।
माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका चुडाबहादुर रुचाल मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला ।
बैदाम, लेखनाथतिर पोखराका गल्लीगल्लीमा बजिरहेको त्यस्तो माइकिङ कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल पनि भइरहेको थियो ।
यस्तो अवस्था देख्नासाथ प्रहरीलाई संका लागेर बुझ्दै जाँदा त्यसरी सहयोगको अनुरोध गर्नमात्रै पोखरा महानगरपालिकाभित्र १० वटा टेम्पु खटिएको पाइएको प्रहरीले बताएको छ।
जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण पनि नभेटिएपछि इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी महेन्द्र मरासिनी नेतृत्वको टोलीले उनीहरुलाई पछ्याएको थियो।
टेम्पुवालालाई प्रहरीले पोखरा २६ विजयपुरस्थित न्यु हाइवे स्टाफ होटल एन्ड लजमा बस्ने गरेको भेटेपछि प्रारम्भिक अनुसन्धान गर्दा अरु १० वटा टेम्पु पनि भेटिएको प्रहरीले बताएको छ।
मिर्गौला पीडितका लागि भन्दै ठाउँठाउँमा चन्दा संकलन गर्ने उनीहरुको धन्दा नै रहेको पाइएको इलाका प्रहरी कार्यालय शिशुवाका डिएसपी मरासिनीले जानकारी गराएका छन्।