झापा / नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले रू ४० लाख प्रदान गर्ने भएको छ ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिएका छन् । बिर्तामोड स्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताएका छन्।
यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समिति समेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।
यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गरे ।महासङ्घले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिक रूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताएका छन् । “महासङ्घको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शी रूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो”, उनले भने, “यसलाई महासङ्घको वेबसाइटमा राखिने छ ।”
सो अवसरमा प्रदेश नं १ का पत्रकारलाई रु १० लाख बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, प्रेस युनियनकी अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन अध्यक्ष झुलन रेग्मी, नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटी लगायतले शाखाले नयाँ कामको सुरुआत गरेकामा धन्यवाद दिए । उनीहरूले कोरोनाका कारण सकसपूर्ण अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सबल बनाउन र पत्रकारलाई पेशाबाट पलायन हुने अवस्था आउन नदिन महासङ्घ जिल्ला, प्रदेश र केन्द्रले पहलकदमी गर्नुपर्नेमा सुझाव दिए ।