काठमाडौँ / तालिवानले कब्जा गरेपछि अफगानिस्तानबाट पछिल्ला १० दिनमा १६४ नेपाली कामदार स्वदेश फर्किएका छन् । एक सय ६४ नेपालीसँगै दुई अफगानी नागरिक पनि नेपाल आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सुशील वैद्यले
जानकारी दिएका छन् ।
अफगानिस्तान लाई तालिवानले कब्जा गरेसँगै थप नेपाली कामदारको उद्धार सुरु भएको छ । काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत तीन सय ८५ नेपालीलाई अमेरिकी सेनाको विशेष जहाजले उद्धार गरेको छ । ती मध्ये केही आज नेपाल आइपुग्ने छन् । संयुक्त राष्ट्रसंघको कार्यालय, युएनएचसिआर, आइओएमलगायतका निकायमा कार्यरत चार सय ७० जना नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।
सरकारले अफगानिस्तानमा १५ सय मात्रै नेपाली कामदार भएको तथ्यांक सार्वजनिक गर्दा वैदेशिक रोजगार व्यवसायी संघले भने १५ हजारको संख्यामा रहेको जनाएको छ । जसमध्ये संस्थागत रूपमै जाने कामदार चार हजार रहेको संघको दाबी रहेको छ ।
गैरकानुनी रुपमा गएका नेपालीहरूलाई समस्या रहेको बताइएको छ । कतिपय नेपाली अहिले अफगानिस्तानमा रोजगारविहीन छन् ।