एजेन्सी //अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लैजान सैनिक पठाइरहेका बेला चीन, रुस, टर्की र पाकिस्तानले काबुलस्थित दूतावास बन्द नगर्ने भएका छन् ।
सोमबार विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले दूतावासले सामान्य अवस्थामा जसरी काम गरिरहेको बताएका छन्।
अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरू केही फर्किसकेको र केही फर्किन नचाहेर उतै बसिरहेको उनले जानकारी गराएका छन्।
दूतावास उनीहरूसँग नियमित सम्पर्कमा भएकाले उनीहरू सुरक्षित रहेको प्रवक्ता हुआले बताएका छ्न।
चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प्रभाव बढाउँदै लगेपछि यसअघि नै चीनले उसका अधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो ।
गत महिना तालिबान प्रतिनिधिहरूले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटेका थिए ।
चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको बीबीसीले जनाएकाे छ ।
चीन, रूससँगै टर्की र पाकिस्तानले पनि काबुलस्थित आफ्ना दूतावास बन्द नगर्ने बताएका हुन् ।रूसी दूतले मंगलबार काबुलस्थित तालिबानहरूलाई भेट्न लागेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।