बिर्तामाेड / उदयपुरको त्रियुगा नगरपालिका –६ मोहनपुरकी १७ वर्षीया कृशला चौधरीको हत्यामा संलग्न दुइ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

कृशलाको हत्यामा संलग्न सप्तरी सुरुङ्गा नगरपालिका –१ का २७ वर्षीय उचित सदा र २३ वर्षीय विशे सदालाई प्रहरीले पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेको हो । 

OM Sai Pathibhara Hospital

गत साउन १३ गतेबाट परिवारसँग सम्पर्क बिहिन भएकी कृशलाको शव १९ गते त्रियुगा नगरपालिका  –६ स्थित रातमाटे खोलाको किनारमा फेला परेको थियो । 

प्रारम्भिक बयानमा दुवै अभियुक्तले कृशलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा उचितलाल सदाले घरवार बिगारिदिएको भन्दै बदला स्वरुप कृशलाको हत्या गरेको खुलेको छ । 

कृशलाको हत्याको विरोधमा राजनीतिक संगठनदेखि लिएर सामाजिक संघसंस्थाहरुले उदयपुरमा दिनहुँ जसो प्रदर्शन गर्दै आएका थिए ।

मृतक कृशला र अभियुक्त उचित सदाको दोस्रो श्रीमती भनिएकी रोजिना (नाम फेरिएको) साथी रहेको गाउँलेले बताएका छन् । 

कृशलासँग अभियुक्त उचित सदाले बदला लिएको प्रहरीको प्रारम्भिक बयानमा बताएका छन् । घटनाबारे थप अनुसन्धान गर्न उदयपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप गरीएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।