काठमाडौँ / काठमाडौँ महानगरपालिकाद्वारा गठित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले लामो दूरीका ठूला सार्वजनिक सवारी साधन मनोहरा खोला करिडोर अथवा सल्लाघारीबाट सञ्चालनमा ल्याउन सुझाव दिएको छ ।

काठमाडौं महानगरपालिकाका उपप्रमुख उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘कामपा भएर गुड्ने लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समितिले  महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई शुक्रबार तीन बुँदे अध्ययन प्रतिवेदन हस्तान्तरण  गर्दै उक्त सुझाव दिएको हो। 

OM Sai Pathibhara Hospital

ठूला सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ लाई थप व्यवस्थापन गर्नका लागि एक हप्ताअघि कार्यदल गठन गरिएको थियो ।उक्त कार्यदलमार्फत तयार गरिएको प्रतिवेदनमा तत्काल सार्वजनिक यात्रुवाहक ठूला  सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर सर्मत –सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट धुलिखेल पूर्व तर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख छ ।

सङ्घीय सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधनको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टाछुट्टै सवारी साधन टर्मिनलको विकास गर्न आवश्यक रहेको पनि प्रतिवेदनमा भनिएको छ ।

हाल कामपाले खुल्ला मञ्चबाट सञ्चालन बसपार्क हटाएर सिटी यातायातका लागि ‘पिक एन्ड ड्रप’ र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने व्यवस्था गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साबिक बमोजिम बसपार्कका रुपमा प्रयोगका लागि माग गरे पनि कामपाले त्यो सम्भव नहुने बताउँदै आएको छ । 

प्रतिवेदनमा काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी कामपाका क्षेत्र भएर सञ्चालन हुने पनि जानकारी दिएको छ । खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क गत वैशाख १६ बाट बन्द गरेको थियो । खुल्ला मञ्च बन्द भएपछि यातायात व्यवसायीले उपयुक्त स्थानको माग राख्दै आएका छन् ।

व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको कामपाको ६५ औँ कार्यपालिका बैठकले उपप्रमुख खड्गीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।