काठमाण्डौ / एउटा सरकारी कार्यालयले सरकारी स्वामित्वकै अर्को कार्यालय विरुद्ध मानवीय स्वास्थ्यमा खेलवाड गरेको भन्दै कानुनी कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ ।

मानव स्वास्थ्यमा नै असर पर्ने गरी अखाद्य वस्तु बिक्री वितरण गरेको भन्दै खाद्य तथा गुण नियन्त्रण विभागले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

OM Sai Pathibhara Hospital

विभागले गत असोजमा गरेको अनुगमनका क्रममा बजारमा संस्थानले बिक्री गरेका लेबल नभएका तथा उपभोग्य मिति सकिएका सामाग्री फेला पारेको थियो ।   विभागले जिल्ला प्रशासन कार्यालयमा अखाद्य वस्तु बिक्री वितरण गरेको भन्दै डीडीसी र डीडीसीका उत्पादन बिक्री गर्ने सुजल डेरी विरुद्ध कारवाहीको माग गरिएको छ ।

विभागले बटर उत्पादन गर्दै आएको सुजल डेरी र डीडीसीले मिलेमतोमा गुणस्तरलाई ध्यान नदिई मानव स्वास्थ्यमा खेलवाड गरेको दावी गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालयमा दायर भएको मुद्दामा सुजल डेरीका गुणस्तर नियन्त्रक म्यानेजर नरेन्द्र डंगोल र दुग्ध विकास संस्थानका बटर स्वीकार गर्ने विभागका तत्कालीन निमित्त प्रमुख गोविन्दराज जोशीलाई विपक्षी बनाइएको छ।

सुजलले नौनी घ्युको उत्पादन, प्याकेजिङ, लेबल लगाउने र डीडीसीलाई सम्झौताअनुसार घ्युु वितरण गर्ने गरेको भएपनि कारोबारको सम्झौता तथा विवरण लुकाइएको दायर मुद्दामा दावी समेत गरिएको छ ।

सुजल र दग्ध विकास संस्थानको मिलेमतोमा नौनी घ्युको लेबल लुकाइएको र उक्त कसुर खाद्य नियमावली २०२७ को नियम १८ को उपनियम ७ को विरुद्ध भएको  दायर मुद्दामा जिकिर गरिएको छ ।