काठमाडौँ / काठमाडौँको चाबहिलमा एक व्यक्तिले ६ महिनाकी गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । मकवानपुरको हेटौँडा घर भई काठमाडौँको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
त्यसपछि उनी आफैँले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । प्रहरी टोली घटना स्थलमा पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रञ्जनाको शव भेटिएको हो । श्रीमतीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा जानकारी दिँदै अनुसन्धान भइरहेको गौशाला प्रहरीका डीएसपी केशव भट्टराईले जानकारी दिएका छन् ।