काठमाण्डौ // उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हुँ भनि ठगी गरेको आरोपमा एक नक्कली कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा डोटी जिल्ला के आई सिंह गाउँपालिका-६ का केशवराज भट्ट, परिर्वतित नामहरु (किशोर भट्ट, कुशल भट्ट) रहेका छन्।
उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
उपराष्ट्रपति कार्यालको नाम दुरुपयोग र ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्याउने ठगी गर्ने कार्यमा संलग्न भएको उनीमाथि आरोप छ।
महाशाखाले भट्टबाट कोही व्यक्तिहरु पीडित भएको भए महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
भट्ट यसअघि पनि २०७५ चैत्र २६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा संलग्न रहेको आरोपमा पक्राउ परि १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेको कुरा प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोईरालाले जानकारी गराएका छन् ।
उनले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनेर आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको एसपी कोईरालाले बताएका छन्।
उनको साथबाट प्रहरीले उनले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन १ थान ,केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम १ थान ,किशोर भट्ट नामको त्रि–चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र १ थान र सोहि नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड १ थान समेत बरामद गरेको छ।