बिर्तामाेड / सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । घिसिङले बुधबार नियुक्ति पत्र बुझेर पदबहाली गर्ने कार्यक्रम रहेको छ ।
सरकारले हाल प्राधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय गर्दै उनको स्थानमा घिसिङलाई लगेको हो ।
ऊर्जामन्त्रीको अध्यक्षतामा हुने आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिव , सरकारले नियुक्त गरेका दुईजना विशेषज्ञ , इन्जिनियरिङ अध्ययन संस्थानका डिन, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि सदस्यका रूपमा रहने छन् ।
आयोगका सदस्यले तलब नपाउने व्यवस्था रहेको भएपनि शाक्यलाई पूर्णकालीन तलबी सदस्यका रूपमा पदस्थापन गर्न सरकारले मंगलबार नै नियमावलीमा समेत परिवर्तन गरेको थियो ।
वर्तमान अर्थमन्त्री जनार्दन शर्मा उर्जा मन्त्री रहेका बेला प्राधिकरणमा नियुक्त भएका घिसिङ चार वर्षे कार्यकाल पुरा गरी गत भदौ २८ मा प्राधिकरणबाट बिदा भएका थिए । घिसिङ प्राधिकरणमा नियुक्त हुँदा २६ प्रतिशत विद्युत चुहावट रहेकोमा उनी बिदा हुँदा १५ प्रतिशतमा झरेको थियो भने घाटामा रहेको प्राधिकरण पनि मुनाफामा गएको थियो । आर्थिक वर्ष ०७६/७७ मा प्राधिकरणले ११ अर्ब ६८ करोड खुद नाफा कमाएको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि घिसिङलाई प्राधिकरणमा नै राख्न तिव्र जनदवाव रहेको थियो । ओली नेतृत्वको सरकारले जनदवाव लत्याउँदै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।