गाईघाट / उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ की २३ वर्षीया रञ्जु तामाङको हत्या भएको छ । २३ वर्षीया तामाङ गर्भवती रहेकै समयमा उनको हत्या भएको हो ।
उनी बसेकै घरमा ओछ्यानमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । काठमाण्डौ –८ को गुहेश्वरी स्थित एक घरमा उनको हत्या भएको प्रहरीले जानकारी गराएको छ ।
महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंहले हत्यामा संलग्न भएको अभियोगमा रञ्जुका श्रीमान ३९ वर्षीय राम श्रेष्ठलाई पक्राउ गरिएको जानकारी गराएका छन् । पक्राउ परेका श्रेष्ठ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थायी ठेगाना भई गुहेश्वरीमा डेरा गरी बस्ने गरेका थिए ।
हत्यामा संलग्न श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर हत्या गरेको प्रारम्भिक बयानका क्रममा खुलेको छ । रञ्जुको हत्या पछि श्रेष्ठ आफैँले प्रहरी कार्यालयमा खबर गरी हत्या स्वीकार गरेका थिए ।
प्रहरी पुग्दा श्रेष्ठ हत्या भएकै स्थानमा प्रहरीलाई कुरेर बसेका थिए । पक्राउ परेका श्रेष्ठले समेत आफ्नो हात काटेको प्रहरीले जानकारी गराएको छ । उनले बयानका क्रममा झगडाको समयमा श्रीमान मरेको भन्दै हातको चुरा फुटाएकाले आफूले हत्या गरेको स्विकारेको प्रहरीले बताएको छ ।