बिर्तामोड / कोरोना महामारीलाई देखाएर संयुक्त अरब इमिरेट्स (युएई) ले लागू गरेको नयाँ नियमका कारण नेपाल प्रभावित हुने भएको छ । गत सोमबार यता वैदेशिक रोजगारका क्रममा दुबई जान भनेर त्रिभुवन विमानस्थल पुगेका सयौँ नेपाली फर्किएका छन् ।
दुबईको सरकारले जहाजको बोर्डिङ पास लिनुभन्दा अघि विमानस्थलमा नै एन्टिजेन परीक्षण गरेकालाई मात्र आफ्नो मुलुकमा प्रवेश दिने निर्णय गरेपछि नेपाली प्रभावित भएका हुन् ।
त्रिभुवन विमानस्थलमा एन्टिजेन परीक्षणको सुविधा नभएकाले दुबई जान घरबाट हिँडेका नेपाली काठमाण्डौमा नै अलपत्र परेका हुन् ।
सोमबार नेपाल वायुसेवा निगमको आरए २२९ र हिमालय एयरलाइन्सको एचएन ५६५ उडान मार्फत दुबई जान हिँडेका नेपाली विमानस्थलबाट नै फर्किएका छन् । उनीहरु फर्किएपछि दुवै विमान रित्तै दुबईका लागि उडेका थिए ।
दुबई सरकारले नेपालबाट आफ्नो मुलुक आउनेका लागि ४८ घण्टाभित्र गरेको कोरोना परीक्षण ( पिसिआर ) र चार घण्टा पहिले विमानस्थलमै गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ ।
दुबईले नेपाल, भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डा सहित १६ मुलुकलाई कोरोना संक्रमण बढेका मुलुकको सुचीमा राखेको छ । नेपालसहितलाई अति जोखिम भएका १६ देशका नागरिकलाई आफ्नो देशमा प्रवेशका लागि दुबईले नयाँ नियम लागू गरेको हो ।
दुबईले हाल आवासीय भिसा भएका र कर्मचारीका लागि मात्रै प्रवेश अनुमति दिने गरेको छ ।