बिर्तामोड / नेपाली सेनाको नेतृत्वको जिम्मेवारी रथी प्रभुराम शर्माको काँधमा आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि बिदामा बसेपछि शर्माको काँधमा सेनाको नेतृत्व गर्ने जिम्मेवारी आएको हो ।

नेपाली सेनाको परम्पराअनुसार प्रधानसेनापति थापाको सेवा अवधि एक महिना बाँकी छँदै उनी आइतबारदेखि बिदामा बसेका छन् । एक महिनापछि प्रधानसेनापति बन्ने शर्मालाई यसअघि नै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम  प्रधानसेनापतिको जिम्मेवारी दिएकी थिइन् ।    

OM Sai Pathibhara Hospital

शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद तथा सुरक्षा, थाइल्याण्ड तथा पाकिस्तानबाट प्रतिरक्षा र बङ्गलादेशबाट शान्ति सेना सम्बन्धी उच्चस्तरीय तालिम लिएका छन् ।

आफ्नो ३७ वर्षे लामो सैनिक सेवाको क्रममा उनी गुल्म, गण, बाहिनी, पृतनालगायत जङ्गी अड्डास्थित सैनिक सचिव, भर्ना छनौट निर्देशक, नीति तथा योजना निर्देशक, सह–बलाध्यक्षका साथै युद्धकार्य महानिर्देशक, संभाररथी, बलाध्यक्ष र बलाधिकृतको भूमिकामा रहेर काम गरेका छन् ।

उनले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पूर्वी टिमोरमा गुल्म र कङ्गोमा गणको कमान्ड समेत गरेका थिए । बंगलादेशमा रहेको नेपालको दुतावासमा उनले तीन वर्षसम्म सैनिक सहचारीको कार्यभार सम्हालेका थिए ।

रथी शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम.ए. र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एम.फिल. गरेका छन् ।

रथी शर्माले सेनाको नयाँ संरचना तीन जोड एकको अवधारणालाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउनु आफ्नो मुख्य काम भएको बताएका छन् ।

पूर्व प्रधानसेनापतिले सुरु गरेका सुधारका कार्यक्रमलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिने उनले जानकारी गराएका छन् ।