झापा / मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया
विष्णुमाया मगरको अनुहारमा मासुको डल्लो पलाएर छोपिन लागेको छ । निधारमा निस्किएको
मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा अनुहार छोपिन थालेको हो ।
आर्थिक अवस्था न्युन भएको कारण उपचार गर्न नसकेकाले दुबै
आँखा छोपिन लागेको जस्ता समस्या दिन प्रतिदिन बढ्दै गएको बिष्णुमाया बताउछिन् ।
उनी भन्छिन्,“उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा
अस्वभाविक रुपमा मासुको डल्लो बढ्दै जाँदा खानपिउन गर्न नै समस्या भइसक्यो” ।
आफ्नो घर नभएपछि काकाकाकीको घरमा बस्दै आएकी उनी आर्थिक
कमजोरीका कारण उपचारका लागि अस्पताल जान नसकेको र पीडा सहेर बस्नु परेको बताउछिन् ।
उनको बाल्यकालदेखि नै अनुहारमा साना गाठागुठी देखिएको र हाल अस्वभाविक रुपमा बढ्दै
जाँदा के रोगका कारण मासु पलाएको भन्ने थाहा हुन नसकेको उनि बताउछिन् ।
जीविका चलाउन मुस्किल भएपछि उनी मङ्गलवार मेचीनगर
नगरपालिकाका नगरप्रमुख विमल आचार्यलाई भेट्न नगरपालिका पुगेकी थिइन् ।
नगरका प्रमुखलाई भेटाउन सहयोग गरेकी सामाजिक कार्यकर्ता
निर्मला भण्डारीले विष्णुमायाको अपाङ्ग परिचय पत्र बनाउन पाए मासिक सामाजिक भत्ता
उपलब्ध हुने र त्यसबाट जीविका चलाउन सजिलो हुने नगरप्रमुख आचार्यलाई अनुरोध गरेकी
छन् । उपचारका लागि निःशुल्क व्यवस्थाका लागि समेत भण्डारीले आग्रह गरेकी छन् ।