उदयपुर / त्रियुगा नगरपालिका –६ मोहनपुरकी १६ वर्षीया किशोरीको ६ दिन पछि शव फेला परेको छ । साउन १३ गतेदेखि बेपत्ता भएकी कृशला चौधरीको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा विभत्स अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएको दिन देखि हराएकी थिइन्। उनको खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा शव फेला परेको हो।
जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुनसक्ने आशंका भएको मोहनपुरका स्थानीयवासी खगेन्द्र कटुवाल बताउँछन् ।
प्रहरीका अनुसार कृशलाको शवको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो ।
हालसम्म गरेको अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आशङ्कामा तीन जनालाई पक्राउ गरि शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।