राजविराज / मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्षले हस्ताक्षर किर्ते गरी बैंकबाट रकम निकालेको भन्दै कोषाध्यक्षले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन् ।
सप्तरीको महदेवा गाउँपालिका ५ मा निर्माणधीन राम जानकी मन्दिर उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्र मण्डल विरुद्ध कोषाध्यक्ष भुवनेश्वरी मण्डलले उजुरी दिएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार दर्ता भएको उजुरीमा गाउँपालिकाबाट प्राप्त बजेटमा निर्माण भइरहेको मन्दिरका लागि प्राप्त २ लाख २७ हजार रकम हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नं. २२२७ बाट आफूलाई थाहै नदिई अध्यक्ष मण्डलले किर्ते हस्ताक्षर प्रयोग गरी निकालेको उल्लेख छ ।
किर्ते हस्ताक्षरमा बैंकबाट सरकारी पैसा निकालेर दुरुपयोग भएको विषयमा जिल्ला प्रशासन कार्यालयले अनुसन्धान गरी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीलाई निर्देशन दिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले कोषाध्यक्ष मण्डलले न्यायिक समितिमा पनि उजुरी दिएको र सो विषयमा छानविन भइरहेको बताएका छन् ।