भद्रपुर // मेची नदीले कचनकवल गाउँपालिका-५ स्थित पाठामारीमा रहेको एउटा मुख्य सीमा पिलर बगाएको छ।
केही दिन अघि परेको अविरल वर्षाले मेची नदीमा पानीको बहाव बढेको थियो।
नदीले पाठामारीको तटीय क्षेत्र कटान गर्ने क्रममा नेपाल–भारतको एउटा मुख्य सीमा पिलर बगाएको हो।
नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले सीमा पिलरहरू केही समस्या देखिएमा संयुक्त रुपमा काम गर्नुपर्ने दुवै देशका सरकारको नीति रहेपनि जिर्ण रहेको ११२ नम्बर सीमा पिलरको मर्मत गर्न नसकेकाले नदीले बगाएको हो ।
सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक वर्षअघि नै सम्बन्धित निकायलाई जानकारी भएको भए तापनि कोरोना महामारीका कारण त्यसलाई जोगाउन नसकिएको स्थानीय कमल गणेशले बताएका छन्।
मेचीमा पानीको बहाव बढेपछि नदी आसपासमा रहेका दुई दर्जन बढी सानो सीमा पिलर समेत डुबानमा परेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण भद्रपुरका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी गराएका छन्।
कोरोनाले गर्दा डेढ वर्षदेखि भद्रपुरसंग जोडिएको सीमा पिलरको स्थलगत निरीक्षण हुन नसकेको डिएसपी भण्डारीले बताएका छन् ।समयमा तटबन्ध नगरेकाले नदीले सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन समेत कटान गरेको छ।
यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाएर लैजाने खतरा बढेको भारतीय नागरिक उपेन्द्र साहले गुनासो गरेका छन्।
नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले ११२ सीमा पिलर सुरक्षा दिइरहेको छ।
सशस्त्र प्रहरीको पोस्ट पनि बगाउने अवस्था पुगेको स्थानीयले बताएका छन्।