काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनअन्तर्गत बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन यथाशीघ्र सम्पन्न गर्न मातहतका सबै निकायलाई परिपत्र जारी गरेको छ। महाधिवेशनका बाँकी प्रक्रियालाई एउटै मापदण्डमा सम्पन्न गराउने उद्देश्यले केन्द्रीय निर्वाचन आयोगले नयाँ निर्देशन जारी गरेको हो।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी परिपत्रमा हालसम्म सम्पन्न हुन बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनलाई प्रथम महाधिवेशन चक्रकै निरन्तर प्रक्रिया मानिने उल्लेख गरिएको छ। त्यसैले पार्टीको विधान, निर्वाचन कार्यविधि तथा आयोगले यसअघि जारी गरेका सबै निर्णय र निर्देशन यथावत् लागू हुने स्पष्ट पारिएको छ।
निर्वाचन प्रक्रियामा दोहोरो प्रतिनिधित्व रोक्न आयोगले नयाँ व्यवस्था पनि लागू गरेको छ। अब कुनै सदस्यले अर्को तहमा प्रतिनिधि वा पदका लागि उम्मेदवारी दर्ता गरेपछि अघिल्लो तहको प्रतिनिधिको हैसियत स्वतः समाप्त हुनेछ। यसका लागि छुट्टै राजीनामा दिनुपर्ने वा स्वीकृति लिनुपर्ने व्यवस्था रहने छैन।
रास्वपाले एउटै महाधिवेशन चक्रमा एक सदस्यले एक तहमा मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था दोहोर्याउँदै अधिवेशनलाई निष्पक्ष, वैधानिक र एकरूप ढंगले सम्पन्न गर्न सबै प्रदेश तथा जिल्ला समितिलाई निर्देशन दिएको छ।
असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम महाधिवेशनपछि केन्द्रीय संरचनाको केही प्रक्रिया अझै बाँकी रहेका बेला आयोगले यो परिपत्र जारी गरेको हो। पार्टीले अब बाँकी अधिवेशन सम्पन्न गरेर संगठनात्मक संरचनालाई पूर्णता दिने तयारी अघि बढाएको जनाएको छ।




































