काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर हिंसाको दोष विपक्षी दलमाथि थोपर्ने रणनीति अपनाएको आरोप लगाएका छन्। पछिल्ला आन्दोलन र त्यसपछि भएका राजनीतिक घटनाक्रमलाई संकेत गर्दै उनले सत्तापक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले आन्दोलन, वार्ता र सम्झौतासमेत पूर्वनियोजित ढंगले अघि बढाइएको दाबी गरेका छन्। उनले आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने र अन्ततः हिंसाको जिम्मेवारी विपक्षीमाथि थोपर्ने प्रवृत्तिलाई राजनीतिक नाटकको संज्ञा दिएका छन्।

पोखरेलले लेखेका छन्, “आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने—यो जुक्ति गजबको छैन त?“

उनको भनाइ पछिल्लो समय देशका विभिन्न स्थानमा भएका आन्दोलन, झडप र त्यसपछिका सरकारी निर्णयलाई लक्षित रहेको बुझिएको छ। यद्यपि उनले कुनै दल वा आन्दोलनको नाम भने खुलाएका छैनन्।

एमाले महासचिव पोखरेलले सत्तासीन पक्षले योजनाबद्ध रूपमा राजनीतिक वातावरणलाई तनावपूर्ण बनाउँदै त्यसको दोष विपक्षीमाथि सार्ने प्रयास गरिरहेको आरोपसमेत लगाएका छन्। उनको अभिव्यक्तिपछि पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर सत्ता र प्रतिपक्षबीच आरोप–प्रत्यारोप अझ तीव्र हुने संकेत देखिएको छ।