काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीमा बसको ठक्करपछि एउटा कार नदीमा खसेको छ। दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालित भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहका अनुसार कार नदीमा खसेको सूचना प्राप्त हुनासाथ उद्धार टोली घटनास्थलतर्फ पठाइएको हो। प्रारम्भिक सूचनाअनुसार बसको ठक्करका कारण कार नदीमा खसेको बताइएको छ।

कारमा कति जना सवार थिए भन्ने अझै यकिन हुन सकेको छैन। यस्तै, नदीमा खसेको कारको दर्ता नम्बर र ठक्कर दिएको भनिएको बसको नम्बरसमेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य अघि बढाएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण, सम्भावित मानवीय क्षति तथा अन्य विवरणबारे अनुसन्धान जारी रहेको र थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।