काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउन केन्द्रीय समिति बैठक बोलाएको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राखेर नेतृत्वले निर्णायक छलफल गर्न लागेको हो।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आगामी साउन २४ गते केन्द्रीय समिति बैठक आह्वान गरिएको जानकारी दिएका छन्। बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया अन्तिम रूप दिने रहनेछ।पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनअघि निर्वाचन समितिलाई सदस्यहरूको अन्तिम सूची बुझाउनुअघि देखिएका त्रुटि, विवाद वा छुटेका विवरणलाई यही बैठकबाट समाधान गरिनेछ।

नेतृत्वले विधानअनुसार निष्पक्ष र विवादरहित महाधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ सबै पक्षलाई समेटेर सदस्यताको विषय टुंग्याउने तयारी गरेको जनाएको छ।कांग्रेसले यसअघि नै आगामी असोज महिनामा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि क्रियाशील सदस्यताको सूची अन्तिम रूप दिनुपर्ने भएकाले केन्द्रीय समिति बैठकलाई महाधिवेशन तयारीको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

महाधिवेशनको काउन्टडाउन सुरु भएसँगै कांग्रेसभित्र अब संगठन सुदृढीकरण र सदस्यता व्यवस्थापनमा ध्यान केन्द्रित भएको छ। साउन २४ को केन्द्रीय समिति बैठकले सदस्यता विवाद समाधान गर्दै महाधिवेशनको औपचारिक तयारीलाई थप गति दिने अपेक्षा गरिएको छ।