बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको घटनापछि सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीयले भारतीय पक्षले सीमारेखा पार गर्दै एकतर्फी रूपमा संरचना भत्काएको आरोप लगाएका छन्।
स्थानीयका अनुसार आइतबार दिउँसो ठूलो संख्यामा आएको एसएसबी टोलीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको बाँध डोजर प्रयोग गरी भत्काएको हो। हतियारसहित आएका सुरक्षाकर्मीलाई स्थानीयले विरोध जनाए पनि काम रोक्न सकेनन्।
स्थानीय अगुवाहरूले एसएसबी नेपाल–भारतबीचको सीमा मानिएको सिमलको रुखभन्दा करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको दाबी गरेका छन्। उनीहरूका अनुसार यो घटना सीमामा भइरहेका हस्तक्षेपको पछिल्लो श्रृंखला हो।
घटनापछि अवस्था थप तनावपूर्ण नबनोस् भनेर नेपाली सशस्त्र प्रहरी बल घटनास्थलमा परिचालन गरिएको छ। यसअघि पनि भारतीय पक्षले यही क्षेत्रमा बाँध निर्माण रोक्न दबाब दिएको स्थानीयको भनाइ छ।
नारायणी नदीको धार परिवर्तन, सीमा स्तम्भको अभाव र सीमाको व्याख्यामा देखिएको मतभेदका कारण सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारतबीच संवेदनशील सीमावर्ती क्षेत्रका रूपमा रहँदै आएको छ।






































