काठमाडौं । सडक विस्तार, सवारीसाधनको संख्या र ट्राफिक सचेतना अभियान बढिरहेका छन्। तर त्यससँगै नेपालका सडकहरू झन् असुरक्षित बन्दै गएका छन्। पछिल्लो आर्थिक वर्षको तथ्यांकले देशभर सवारी दुर्घटनाको अवस्था झनै भयावह बन्दै गएको देखाएको छ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा देशभर ३० हजारभन्दा बढी सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ हजार ७०७ जनाले ज्यान गुमाएका छन् भने करिब ४७ हजार जना घाइते भएका छन्। यो पछिल्ला तीन वर्षकै सबैभन्दा उच्च तथ्यांक हो।
अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा २८ हजार ६८२ दुर्घटनामा २ हजार ५५० जनाको मृत्यु भएको थियो भने २०८०÷८१ मा २२ हजार ९४८ दुर्घटनामा २ हजार ३७६ जनाले ज्यान गुमाएका थिए। तथ्यांकले हरेक वर्ष दुर्घटना र मृतक दुवैको संख्या बढिरहेको स्पष्ट देखाउँछ।
प्रदेशगत तथ्यांकमा लुम्बिनी प्रदेश सबैभन्दा बढी मृत्यु हुने प्रदेश बनेको छ। यहाँ ४ हजार ७९७ दुर्घटनामा ५८५ जनाको मृत्यु भएको छ। यता मधेस प्रदेशमा ७ हजार ९४७ दुर्घटना हुँदै सबैभन्दा बढी दुर्घटना दर्ता भएको छ, जहाँ ५३४ जनाको ज्यान गएको छ।
त्यस्तै कोशी प्रदेशमा ४४०, बागमतीमा ३४०, गण्डकीमा २५२, काठमाडौं उपत्यकामा २१६, सुदूरपश्चिममा २०५ र कर्णालीमा १३५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
प्रहरीका अनुसार दुर्घटना बढ्नुका मुख्य कारण तीव्र गतिमा बढिरहेको सवारी संख्या, ट्राफिक नियम उल्लंघन, लेन अनुशासनको कमी, जीर्ण तथा साँघुरा सडक, जोखिमयुक्त ग्रामीण मार्ग, प्राविधिक रूपमा कमजोर सवारीसाधन, अपर्याप्त ट्राफिक जनशक्ति र सडक सुरक्षा पूर्वाधारको अभाव हुन्। कतिपय दुर्घटनामा प्रतिकूल मौसम र सडकमा छाडा चौपाया पनि जिम्मेवार देखिएका छन्।
काठमाडौं उपत्यकामा भने दुर्घटनाको संख्या केही घटे पनि मृत्यु दर बढ्दै गएको छ। ट्राफिक प्रहरीका अनुसार दुर्घटनापछि उद्धारमा ढिलाइ, एम्बुलेन्समा प्राथमिक उपचारको अभाव र अस्पतालमा प्रभावकारी उपचार नपाउनु यसको प्रमुख कारण बनेको छ।
हरेक वर्ष हजारौं परिवार सडक दुर्घटनाका कारण पीडित भइरहेका छन्। तथ्यांकले सडक सुरक्षा अभियान मात्र पर्याप्त नभएको संकेत गरेको छ। अब कडा ट्राफिक कार्यान्वयन, सुरक्षित सडक पूर्वाधार, चालक अनुशासन र प्रभावकारी उद्धार प्रणाली बिना दुर्घटनाको यो बढ्दो श्रृंखला रोक्न कठिन हुने देखिएको छ।






































