काठमाडौं । सोलुखुम्बुको निर्माणाधीन माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण अघि वातावरणीय अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विद्युत् विकास विभागले आइतबार सूचना जारी गर्दै आयोजनासँग सम्बन्धित प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा सरोकारवालाबाट राय–सुझाव मागेको हो।
५.५७५ मेगावाट क्षमताको आयोजनाको स्विचयार्डलाई तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनासँग जोड्ने ३३ केभी र त्यसपछि जुनबेँसी हब पुलिङ स्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण गर्ने योजना रहेको विभागले जनाएको छ। प्रस्तावित प्रसारण लाइनको कुल लम्बाइ १३.१८ किलोमिटर हुनेछ।
प्रवद्र्धक कम्पनीले प्रसारण लाइन निर्माण अनुमति मागेपछि तयार गरिएको प्रतिवेदनअनुसार आयोजना कार्यान्वयनबाट वातावरणमा उल्लेखनीय असर पर्ने देखिएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ।
आयोजनाका लागि करिब एक हेक्टरभन्दा बढी जग्गा स्थायी तथा अस्थायी रूपमा प्रयोग हुने र प्रसारण लाइनको अधिकार क्षेत्रभित्र झन्डै ९.६६ हेक्टर क्षेत्र पर्ने उल्लेख गरिएको छ। विभागले आयोजना निर्माणका क्रममा भू–क्षय, बाढी, धुलो तथा अन्य वातावरणीय प्रभाव न्यूनीकरणका मापदण्ड पालना गरिने जनाएको छ।






































