काठमाडौं।संसदीय निगरानीलाई थप सक्रिय बनाउने संकेत गर्दै सार्वजनिक लेखा समितिले आफूकहाँ परेका उजुरीमाथि आजदेखि औपचारिक छलफल र छानबिन प्रक्रिया सुरु गर्ने भएको छ। समितिको पूर्ण बैठकले उजुरीहरूलाई एजेन्डामा समावेश गर्दै कुन विषयमा तत्काल अनुसन्धान अघि बढाउने भन्ने निर्णय गर्ने तयारी गरेको हो।

समितिका सभापति भरत खड्काका अनुसार सबै उजुरीलाई एउटै रूपमा नहेरी प्राथमिकताका आधारमा अध्ययन गरिनेछ। समितिको अधिकार क्षेत्रभित्र पर्ने विषयलाई पहिचान गरेपछि मात्रै विस्तृत छलफल र अनुसन्धान प्रक्रिया अगाडि बढाइनेछ।यसपटक उजुरीमाथिको कारबाही उपसमितिबाट होइन, समितिको पूर्ण बैठकबाटै सञ्चालन हुनेछ। अहिले गठन गरिएका पाँच उपसमितिले बेरुजु फर्छ्यौटसम्बन्धी काम मात्रै गरिरहेका कारण नयाँ उजुरीमाथिको अनुसन्धान मुख्य समितिले नै गर्ने निर्णय गरिएको हो।समितिले आवश्यकताअनुसार सम्बन्धित सरकारी निकायका अधिकारीलाई उपस्थित गराउने, विभागीय मन्त्रीसँग स्पष्टीकरण लिने तथा आवश्यक कागजात झिकाएर अध्ययन गर्ने तयारी गरेको छ। प्राप्त प्रमाण र छलफलका आधारमा थप गहिरो छानबिन गर्ने, निर्देशन दिने वा छुट्टै अध्ययन संयन्त्र बनाउनेबारे निर्णय गरिनेछ।

सभापति खड्काले समितिमा उजुरीको संख्या धेरै रहेकाले अब नियमित अन्तरालमा बैठक राखेर विषयगत रूपमा क्रमिक छलफल अघि बढाइने जानकारी दिएका छन्।पछिल्लो समय सार्वजनिक लेखा समितिमा विभिन्न सार्वजनिक निकाय, आर्थिक अनुशासन र सरकारी निर्णयसँग सम्बन्धित उजुरी उल्लेख्य रूपमा परेका छन्। त्यसैले अब समितिको छानबिनले सरकारी निकायको जवाफदेहिता र सार्वजनिक खर्चको पारदर्शितामाथि थप दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

संसदीय समितिमा दर्ता भएका उजुरी अब औपचारिक अनुसन्धानको चरणमा प्रवेश गरेका छन्। समितिको आगामी निर्णय र छानबिन प्रक्रियाले सार्वजनिक खर्च, सरकारी कामकारबाही र सुशासनसँग जोडिएका विषयमा कस्तो निष्कर्ष निकाल्छ भन्नेमा अब सबैको ध्यान केन्द्रित भएको छ।