काठमाडौं । लामो समयदेखि आन्तरिक ध्रुवीकरणले प्रभावित नेपाली कांग्रेसभित्र अब मेलमिलापको नयाँ प्रयास सुरु भएको छ। पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने उद्देश्यसहित युवा नेताहरूले ‘देश र कांग्रेस जोड्ने’ अभियान घोषणा गरेका छन्।नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, रञ्जित कर्णलगायत युवा नेताहरूको अगुवाइमा सुरु हुन लागेको अभियानले कांग्रेसका फरक धारबीच संवाद, सहकार्य र विश्वासको वातावरण बनाउन पहल गर्ने जनाएको छ।

अभियानको पहिलो कार्यक्रमका रूपमा साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने भएको छ। देशभरका पालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गरी कांग्रेसका नेता–कार्यकर्तालाई एउटै मञ्चमा ल्याउने तयारी गरिएको अभियान पक्षले जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा अभियानका अगुवाहरूले कांग्रेसभित्रको निरन्तर आन्तरिक विवादले पार्टी मात्र होइन, लोकतान्त्रिक व्यवस्थालाई पनि कमजोर बनाइरहेको निष्कर्ष सुनाए। उनीहरूका अनुसार प्रमुख प्रतिपक्ष कमजोर हुँदा प्रतिगामी शक्तिहरूलाई बल पुग्ने भएकाले कांग्रेसलाई फेरि एकताबद्ध बनाउनु समयको आवश्यकता हो।

अभियानले आफूहरू कुनै गुट, व्यक्ति वा पदका लागि नभई पार्टीको संस्थागत एकता, लोकतन्त्रको सुदृढीकरण र संगठनको पुनर्जीवन का लागि अघि बढेको स्पष्ट पारेको छ। महाधिवेशनपछिको बढ्दो ध्रुवीकरणबीच सुरु भएको यो अभियानले कांग्रेसभित्रको दूरी घटाउन कति सफल हुन्छ भन्ने आगामी दिनले तय गर्नेछ। तर युवा पुस्ताले नेतृत्व तहलाई संवाद र सहमतितर्फ धकेल्ने प्रयास थालेपछि कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ बहस भने सुरु भएको छ।