काठमाडौं । मध्यपूर्वलाई नयाँ युद्धतर्फ धकेल्न सक्ने अमेरिकी सैन्य योजना अन्तिम क्षणमा रोकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तयारी अवस्थामा रहेको ठूलो सैन्य हमला तत्कालका लागि स्थगित गर्दै दुवै पक्षबीच सम्झौताको प्रारम्भिक आधार तयार भएको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत अमेरिका पूर्ण सैन्य तयारीमा रहे पनि कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै आक्रमण नगर्ने निर्णय लिएको जनाएका छन्। उनका अनुसार सम्भावित सहमतिमा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने होर्मुज स्ट्रेट तत्काल खुलाउने र इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने विषय समेटिएका छन्। स्रोतहरूका अनुसार साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग प्रत्यक्ष संवाद गर्दै सैन्य आक्रमण रोक्न आग्रह गरेका थिए। त्यसपछि कूटनीतिक पहलले गति लिएको बताइएको छ।
यद्यपि तनाव भने पूर्ण रूपमा हटेको छैन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सैन्य दबाबकै कारण इरान वार्तामा आउन बाध्य भएको दाबी गरेका छन्। उनले इरानको सैन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गर्दै अमेरिकाले आवश्यक परे फेरि पनि कारबाही गर्न सक्ने संकेत दिएका छन्।
उता इरानले भने अमेरिकामाथि ’दोहोरो नीति’ अपनाएको आरोप लगाएको छ। इरानी अधिकारीहरूले सार्वजनिक रूपमा युद्धको धम्की दिने तर गोप्य रूपमा वार्ता खोज्ने अमेरिकी व्यवहार विश्वसनीय नभएको बताएका छन्। साथै, इरानमाथि थप आक्रमण भए त्यसको जवाफ सम्पूर्ण क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूले भोग्नुपर्ने चेतावनी पनि दिएका छन्।
यसबीच वार्ताको सम्भावना बढे पनि अमेरिकाले इजरायलमा थप सैन्य इन्धन भर्ने विमान पठाइरहेको छ भने इराक र गाजामा सैन्य गतिविधि जारी रहेकाले पश्चिम एसियाको सुरक्षा अवस्था अझै संवेदनशील नै रहेको विश्लेषण गरिएको छ।
ट्रम्पको निर्णयले तत्काल युद्धको जोखिम केही कम गरेको देखिए पनि अमेरिका–इरान अविश्वास, आणविक कार्यक्रम र होर्मुज स्ट्रेटको नियन्त्रणजस्ता जटिल मुद्दामा अन्तिम सहमति नहुँदासम्म मध्यपूर्वको तनाव पूर्ण रूपमा अन्त्य हुने संकेत भने देखिएको छैन।






































