काठमाडौं । सन् १९९४ मा आमाले अधुरै छाडेको सपना, ३२ वर्षपछि छोरीले पूरा गरेकी छन्। मिस नेपाल २०८३ को ताज जितेकी दीपमाला ढकालले केवल उपाधि मात्र जितिनन्, नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमै नयाँ अध्याय पनि लेखिन्। हङकङमा हुर्किएकी दीपमाला मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनेकी छन्। यससँगै विदेशमा बसेर पनि नेपाली पहिचान र प्रतिभाले राष्ट्रिय मञ्चमा सफलता हासिल गर्न सकिने सन्देश उनले दिएकी छन्।

दीपमालाले एकै प्रतियोगितामा तीन ऐतिहासिक कीर्तिमान कायम गरिन्। पहिलो, मिस नेपालको ताज जित्ने पहिलो गैरआवासीय नेपाली बनिन्। दोस्रो, मिस नेपाल हङकङ (डायस्पोरा) को उपाधि जितेर त्यसैको निरन्तरतामा मुख्य मिस नेपालको उपाधि जित्ने पहिलो प्रतियोगी बनिन्। तेस्रो, ग्रान्ड फिनालेमा चार सहविधा जित्ने पहिलो प्रतिस्पर्धीको कीर्तिमान पनि आफ्नै नाममा लेखाइन्।

उनले मिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्युटी विथ पर्पस जस्ता महत्वपूर्ण चार सहविधा जित्दै निर्णायकमण्डलको ध्यान खिचेकी थिइन्। यीमध्ये केही उपाधिले उनलाई प्रत्यक्ष सेमिफाइनलमा पु¥याएको थियो भने ‘ब्युटी विथ पर्पस’ उपाधिले आगामी मिस वल्र्ड यात्राको तयारीमा समेत थप बल दिएको मानिएको छ। 

दीपमालाको जितलाई अझ भावुक बनाउने अर्को पक्ष भने पारिवारिक इतिहास हो। उनकी आमा रोशनी ढकाल ले सन् १९९४ मा मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन्। त्यतिबेला अधुरो रहेको सपना छोरीले अहिले साकार पारेकी हुन्। यसले यो जितलाई व्यक्तिगत उपलब्धिभन्दा पनि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएको प्रेरणादायी यात्राका रूपमा स्थापित गरेको छ।

हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) मा दोस्रो पुस्ता संयोजकको भूमिकामा रहेकी दीपमालाको जितप्रति एनआरएनएले पनि गर्व व्यक्त गरेको छ। अब उनले आगामी एक वर्ष द हिडन ट्रेजर अन्तर्गत सामाजिक तथा प्रवद्र्धनात्मक गतिविधिमा सक्रिय रहँदै मिस वल्र्ड प्रतियोगिताको तयारी गर्नेछिन्।दीपमाला ढकालको सफलता केवल एउटा सौन्दर्य प्रतियोगिताको जित होइन, यो नेपाली डायस्पोराको बढ्दो सहभागिता, नयाँ पुस्ताको आत्मविश्वास र आमाको अधुरो सपना पूरा भएको प्रेरणादायी कथासमेत हो। मिस नेपालको इतिहासमा उनले बनाएका तीन कीर्तिमान अब आगामी पुस्ताका प्रतियोगीका लागि नयाँ मापदण्ड बनेका छन्।