काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितको टोलीलाई हिमालबाट सुरक्षित रूपमा तल झार्ने अभियान निर्णायक चरणमा पुगेको छ। उद्धार टोलीले आइतबार शवहरू क्याम्प–१ सम्म ल्याउने तयारी गरेको छ भने मौसम अनुकूल भए सोमबार हेलिकप्टरमार्फत थप सुरक्षित स्थानमा सार्ने योजना छ।
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जासहित हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको अन्तिम यात्रा हिमालबाट सुरु हुने भएको छ। उद्धारमा खटिएको ग्राउन्ड टिमले पहिलो चरणमा शवहरूलाई ब्रड पिकको क्याम्प–१ सम्म झार्ने तयारी पूरा गरेको जनाएको छ।उद्धार टोलीका अनुसार क्याम्प–१ पछि शवहरू सोमबार जापानी क्याम्पसम्म पु¥याइने योजना छ। त्यसपछि मौसम र उडानका लागि आवश्यक अवस्था अनुकूल भए हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइनेछ।
उच्च हिमाली क्षेत्रमा हिमपहिरोको जोखिम, खराब मौसम र कठिन भूगोलका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको छ। त्यसैले प्रत्येक चरण अत्यन्त सावधानीका साथ अघि बढाइएको उद्धार टोलीले जनाएको छ।
गत बिहीबार (साउन १४) पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा आएको हिमपहिरोमा १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली थिए। टोलीको नेतृत्व गरिरहेका निर्मल पुर्जाको निधन भएको पुष्टि शनिबार भएको हो।
उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक स्वदेश फर्काउने लक्ष्यका साथ अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।ब्रड पिकमा भएको यो दुर्घटनाले नेपाली पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ। अहिले सबैको ध्यान कठिन हिमाली भूगोलबीच चलिरहेको उद्धार अभियानतर्फ केन्द्रित छ, जहाँ दिवंगत आरोहीहरूलाई सम्मानका साथ स्वदेश ल्याउने प्रयास जारी छ।






































