मुगु/ मुगुको दुर्गम बुमचुम क्षेत्रका ग्रामीण सडकहरू राज्यको बेवास्ता र भौगोलिक कठिनाइका कारण दिनप्रतिदिन जीर्ण बन्दै गएका छन्।

सोरु गाउँपालिका जोड्ने तथा उपल्लो मुगुको नाक्चे लाग्ना सडकखण्डको अवस्था अत्यन्त खराब रहेकाले स्थानीयले हरेक यात्रा ज्यानको जोखिम मोलेर गर्नुपर्ने अवस्था छ। निरन्तर वर्षासँगै सडक हिलाम्मे बनेका छन् भने पहिरोले सडकमा खसालेका ढुंगाका थुप्राले आवागमन थप जोखिमपूर्ण बनाएको छ। स्थानीयका अनुसार वर्षौंदेखि जनप्रतिनिधि निर्वाचित गरेर पठाए पनि सडक सुधारजस्ता आधारभूत समस्याले प्राथमिकता पाउन सकेका छैनन्।

स्थानीयको गुनासोअनुसार राजनीतिक दलका शीर्ष नेताहरू प्रायः हेलिकप्टरमार्फत सोरु पुग्ने गरेका छन्। हालै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल भने सडकमार्ग हुँदै सोरु पुगे पनि स्थानीयको पीडा सम्बोधन हुने गरी कुनै ठोस पहल नभएको उनीहरूको आरोप छ।

एक स्थानीयले भने, “पहिलाका मन्त्रीहरू हेलिकप्टरमा आउनुहुन्थ्यो। अहिले गाडीबाट आउनुभयो। तर हाम्रो दुःख बुझ्नुभएन। आश्वासन दिएर काठमाडौं फर्किनुभयो, तर यहाँको समस्या जस्ताको त्यस्तै छ।”

यता, जिल्लाको सदरमुकाम गमगढीसँग ग्रामीण क्षेत्र जोड्ने अधिकांश सडक पहिरो र हिलोका कारण अवरुद्ध भएका छन्। सडक बन्द हुँदा उपल्लो मुगुतर्फ इन्धनलगायत अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित बनेको छ। सडक सञ्चालनमा ल्याउन जेसिबी परिचालन गरिए पनि पहिरो र खराब मौसमका कारण अवरोध हटाउन कठिन भइरहेको छ।

हरेक वर्ष सडक पूर्वाधारका लागि करोडौं रुपैयाँ बजेट विनियोजन भए पनि त्यसको प्रभाव स्थानीयले अनुभूति गर्न नसकेको भन्दै उनीहरूले सडकको दिगो सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।