काठमाडौं । अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि जाने नेपालीका लागि अब भिसा प्रक्रिया थप कडा हुने भएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० देशलाई समेट्दै ‘भिसा बोन्ड’ कार्यक्रम स्थायी बनाएपछि निश्चित भिसा आवेदकसँग अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी माग्न सकिने व्यवस्था लागू गरेको हो। नयाँ नियम अगस्ट ३ देखि कार्यान्वयनमा आउनेछ।

अमेरिका जाने योजना बनाइरहेका नेपालीका लागि अब नयाँ आर्थिक सर्त थपिएको छ। भिसा स्वीकृत भए पनि आवश्यक ठाने अमेरिकी कन्सुलर अधिकारीले लाखौं रुपैयाँ बराबरको भिसा बोन्ड माग्न सक्ने भएका छन्।अमेरिकी विदेश मन्त्रालयले एक वर्ष परीक्षणका रूपमा सञ्चालन गरेको भिसा बोन्ड कार्यक्रमलाई स्थायी बनाएको छ। अब बी–१ (व्यापार) र बी–२ (पर्यटन) भिसाका निश्चित आवेदकसँग अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी माग्न सकिनेछ। यो व्यवस्था अगस्ट ३ देखि लागू हुनेछ।

यो नीति नेपालसहित ५० देश मा लागू गरिएको छ। सूचीमा नेपाल, अल्जेरिया, अंगोला, एन्टिगुवा र बारबुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्डे, कम्बोडिया, मध्य अफ्रिकी गणतन्त्र, कोटे डिभोआर, क्युबा, जिबुटी, डोमिनिका, इथियोपिया, फिजी, गाबोन, गाम्बिया, जर्जिया, ग्रेनाडा, गिनी, गिनी–बिसाउ, किर्गिज गणतन्त्र, लेसोथो, मलावी, मौरिटानिया, मौरिसस, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुवा, नाइजेरिया, पापुआ न्यू गिनी, साओ टोमे र प्रिन्सिपे, सेनेगल, सेसेल्स, ताजिकिस्तान, तान्जानिया, टोगो, टोङ्गा, ट्युनिसिया, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे समावेश छन्। छिमेकी भारत भने हाल यो सूचीमा परेको छैन।

अमेरिकी विदेश मन्त्रालयका अनुसार यो व्यवस्था सबै आवेदकमा स्वतः लागू हुने होइन। कुन आवेदकसँग धरौटी माग्ने भन्ने निर्णय सम्बन्धित कन्सुलर अधिकारीले जोखिम मूल्यांकनका आधारमा गर्नेछन्। अधिकारीले आवश्यक ठाने मात्रै भिसा जारी गर्नुअघि धरौटी राख्नुपर्नेछ।यसअघि परीक्षण अवधिमा पाँच हजार, १० हजार र १५ हजार अमेरिकी डलरसम्म बोन्ड लिने व्यवस्था थियो। अब पाँच हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम सीमा बढाएर २० हजार अमेरिकी डलर पु¥याइएको छ।

अमेरिकी प्रशासनले यो नीति भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामै बस्ने अर्थात् ‘ओभरस्टे’ हुने प्रवृत्ति नियन्त्रण गर्न ल्याइएको जनाएको छ। तर अध्यागमन अधिकारका पक्षधरहरूले भने यसले वास्तविक पर्यटक, व्यवसायी तथा वैधानिक यात्रुलाई समेत आर्थिक दबाबमा पार्ने र अमेरिका यात्रा थप कठिन बनाउने चेतावनी दिएका छन्।

अमेरिकाले अध्यागमन नीति थप कडा बनाउने रणनीति अघि बढाइरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालसहित ५० देशका नागरिकमा पर्ने देखिएको छ। अब अमेरिका जाने तयारी गरिरहेका नेपालीले कागजी प्रक्रिया मात्रै होइन, आवश्यक परे लाखौं रुपैयाँ धरौटी राख्नुपर्ने सम्भावनासमेत ध्यानमा राखेर योजना बनाउनुपर्ने अवस्था आएको छ।