काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूले सुरु गरेको किसान आन्दोलनको विरासतलाई नयाँ उचाइमा पु-याउन आह्वान गरेका छन्।
नेपालको किसान आन्दोलनका दुई ऐतिहासिक पात्र तुलसीलाल अमात्य र अमर शहीद भीमदत्त पन्तको स्मृति दिवसका अवसरमा जारी श्रद्धाञ्जली सन्देशमा ओलीले किसान आन्दोलन कुनै इतिहासको अध्याय मात्र नभई सामाजिक न्याय र समानताको आधार भएको उल्लेख गर्दै त्यसलाई समयअनुसार थप सशक्त बनाउनुपर्ने बताएका हुन्।
ओलीले नेपाल कम्युनिस्ट आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्यले ‘जसको जोत, उसको पोत’ भन्ने नारामार्फत भूमिहीन र श्रमिक किसानलाई अधिकारका लागि संगठित गरेको स्मरण गरेका छन्। उनका अनुसार अमात्यले किसान आन्दोलनलाई वैचारिक र संगठनात्मक रूपमा बलियो बनाउँदै नेपाली राजनीतिक आन्दोलनलाई नयाँ दिशा दिएका थिए।
त्यसैगरी अमर शहीद भीमदत्त पन्तले ‘कि त जोत हलो, कि त छोड थलो’ भन्ने नारासहित सुदूरपश्चिममा हलिया र कमैया प्रथाविरुद्ध उठाएको विद्रोही आवाज आज पनि किसान मुक्तिको प्रतीक बनेको ओलीको भनाइ छ।
सन्देशमा २०१० साल साउन १७ गते पन्तलाई गोली हानी हत्या गरिएको र त्यसपछि उनको शिर प्रदर्शन गरिएको घटनालाई नेपाली किसान आन्दोलनको सबैभन्दा पीडादायी र विभत्स घटनामध्ये एकका रूपमा उल्लेख गरिएको छ।
ओलीले लोकतान्त्रिक व्यवस्था, सामाजिक न्याय, समान अवसर र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न सक्नु नै तुलसीलाल अमात्य र भीमदत्त पन्तप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन्। उनले किसान आन्दोलनका ती अग्रजहरूको त्याग र बलिदानले आज पनि नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उल्लेख गरेका छन्।






































