काठमाडौं । पूर्वी नाकाबाट नेपालमा भित्रिने इन्धनको परिमाण लगातार बढ्दै गएको देखिएको छ। काँकडभिट्टा भन्सार नाकाबाट मात्रै गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक सार्वजनिक भएको छ।काँकडभिट्टा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा पेट्रोल, डिजेल र एलपीजी ग्यास गरी कुल २४ अर्ब ५० करोड ६७ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको हो।

त्यसमध्ये पेट्रोलको आयात सबैभन्दा धेरै रहेको छ। एक वर्षमा मात्रै १२ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको पेट्रोल आयात भएको छ। त्यसपछि ९ अर्ब ५५ करोड रुपैयाँको डिजेल र २ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको एलपीजी ग्यास आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।तथ्यांकले अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोल र डिजेल दुवैको आयात उल्लेखनीय रूपमा बढेको देखाएको छ। आर्थिक गतिविधि विस्तार, सवारीसाधनको बढ्दो प्रयोग र इन्धनको उच्च मागका कारण आयात बढेको अनुमान गरिएको छ।

इन्धन आयातसँगै सरकारको राजस्व पनि उल्लेख्य रूपमा बढेको छ। काँकडभिट्टा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलबाट ५ अर्ब ८५ करोड रुपैयाँ र डिजेलबाट २ अर्ब ९३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। अर्थात्, दुई इन्धनबाट मात्रै ८ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी राजस्व सरकारको खातामा गएको छ।

काँकडभिट्टाबाट भएको यो आयातले नेपाल अझै पनि पेट्रोलियम पदार्थमा उच्च रूपमा आयातमै निर्भर रहेको स्पष्ट देखाएको छ। एकातिर इन्धनको बढ्दो खपतले राजस्व बढाएको छ भने अर्कोतर्फ विदेशी मुद्रा बाहिरिने क्रम पनि उस्तै तीव्र रहेको संकेत गरेको छ।