काठमाडौं— त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८३ भदौ १२ गते बसेको बैठकको निर्णय नं। अनुसार विश्वविद्यालयअन्तर्गत कार्यरत विभिन्न तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको हो ।
निर्णयअनुसार उपकुलपति, रजिस्टार र रेक्टरको एक महिनाको पारिश्रमिक, प्राध्यापक तथा प्रशासनतर्फका सो सरहका कर्मचारीबाट मासिक सुरु तलब स्केलको १० दिन बराबर, उपप्राध्यापक तथा उपप्रशासक र शाखा अधिकृत तथा प्रशिक्षक वा सो सरहका शिक्षकरकर्मचारीबाट ७ दिन बराबर, मुख्य कार्यालय सहायक तथा कार्यालय सहायक वा सो सरहका कर्मचारीबाट ५ दिन बराबर र श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको पारिश्रमिक कट्टा गरी कोषमा जम्मा गरिनेछ ।
विश्वविद्यालयले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनस्र्थापना कार्यमा योगदान पु¥याउने उद्देश्यले उक्त निर्णय गरेको जनाएको छ ।






































