काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित मुलुकहरूले गर्नुपर्ने बताएका छन् ।

उनले वातावरण विनाशमा तुलनात्मक रूपमा बढी भूमिका खेल्ने विकसित राष्ट्रहरूले त्यसबाट उत्पन्न क्षतिको जिम्मेवारीसमेत लिनुपर्ने धारणा राखेका हुन् । जलवायु परिवर्तनबाट प्रभावित मुलुकको क्षतिपूर्ति पाउने अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्नुपर्नेमा ओलीले जोड दिए ।

ओलीले भोटेकोशीमा आएको बाढीलाई विश्वव्यापी वातावरणीय सङ्कटको गम्भीर सङ्केतका रूपमा लिनुपर्ने बताए । उनका अनुसार पछिल्ला प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असर नेपालजस्ता हिमाली तथा जोखिमयुक्त मुलुकमा थप गम्भीर बन्दै गएको देखाएको छ ।

यस्तो परिस्थितिमा नेपालले जलवायु परिवर्तनका असर र त्यसबाट प्रभावित मुलुकका अधिकारका विषयमा अन्तर्राष्ट्रिय बहस अघि बढाउन अविलम्ब ‘सगरमाथा संवाद’ आयोजना गर्नुपर्ने ओलीको सुझाव छ ।

उनले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउँदै जोखिममा रहेका मुलुकका लागि क्षतिपूर्ति र जिम्मेवारीको विषयलाई अधिकारका रूपमा स्थापित गर्नुपर्ने बताए ।