काठमाडौं । बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो संख्यामा सवारीसाधन तथा यातायात व्यवसायी सम्पर्कविहीन भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बागमती प्रदेशका अध्यक्ष सुवन गिरी (सुमन) का अनुसार प्रारम्भिक विवरणमा करिब १०० बस, ७० भन्दा बढी माइक्रोबस र करिब ३०० मालवाहक टिपर/गाडी सम्पर्कविहीन छन्। रसुवागढी नाका आसपासका करिब ३०० कन्टेनर समेत सम्पर्कविहीन रहेको प्रारम्भिक जानकारी छ।

विपद्का कारण सञ्चार सम्पर्क प्रभावित भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको महासंघले जनाएको छ। सवारीसाधनसँगै करिब ५०० चालक, परिचालक, मजदुर तथा व्यवसायीसँग समेत सम्पर्क हुन नसकेको गिरीले बताए।

विशेषगरी रसुवागढी–बेत्रावती–त्रिशूली–देवीघाट क्षेत्रमा नदी तथा खोलाको किनारमा रहेका सवारीसाधनमा ठूलो क्षति पुगेको छ।

महासंघका अनुसार अहिले पहिलो प्राथमिकता मानिसको उद्धार र राहत भएकाले त्यसपछि मात्र सवारीसाधनको विस्तृत क्षतिको तथ्यांक संकलन गरिनेछ।

गिरीले सडकमार्ग अझै जोखिमपूर्ण रहेको भन्दै प्रभावित क्षेत्रमा जेसीबी, स्काभेटर, बेलिब्रिज तथा अन्य उद्धार उपकरण तयारी अवस्थामा राख्न सरकारसँग आग्रह गरेका छन्। रसुवागढी नाका प्रभावित भएपछि वैकल्पिक मार्ग सञ्चालन र घरबारविहीन नागरिकलाई खाद्यान्नसँगै आवासको व्यवस्था गर्नुपर्ने उनको जोड छ।

महासंघले भने प्रभावित यात्रु तथा नागरिकको उद्धार, राहत सामग्री ढुवानी र आवश्यक स्थानमा निःशुल्क यातायात सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।