काठमाडौं । नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद थप चर्किएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसको १५औँ महाधिवेशन रोक्न अस्वीकार गरेपछि शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ।

देउवा पक्षले भदौ २४ देखि सुरु हुने वडा अधिवेशनमा सहभागी नहुने र आफ्नै नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ। यसबारे छलफल गर्न भदौ १७ गते बैठक बोलाइएको नेता मीनबहादुर विश्वकर्माले बताएका छन्। देउवा पक्षले मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउने तयारी गरेको छ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कांग्रेसले भदौ २४ देखि गाउँरनगर अधिवेशन सुरु गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ। देउवा पक्ष भने उक्त महाधिवेशनमा सहभागी नहुने अडानमा छ।

देउवा पक्षले गत पुस १० गतेसम्म नवीकरण भएका क्रियाशील सदस्यलाई आधार बनाएर छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। उता गगन नेतृत्वको कांग्रेसले छुटेका क्रियाशील सदस्यलाई भदौ १९ गतेसम्म नवीकरण तथा अद्यावधिकको अवसर दिएको छ।

यससँगै एउटै पार्टीका नाममा दुई छुट्टाछुट्टै महाधिवेशन र दुई नेतृत्व दाबी हुने अवस्था बनेको छ। दुवै पक्षले महाधिवेशनपछि नयाँ कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिकका लागि लैजाने तयारी गरेकाले त्यसपछि कसलाई आधिकारिक कांग्रेस मान्ने भन्ने विवाद थप जटिल बन्ने देखिएको छ।

देउवा पक्षले समानान्तर गतिविधि अघि बढाउँदै चुनदेवीमा सम्पर्क कार्यालयसमेत सञ्चालन गरिरहेको छ। सर्वोच्चमा विशेष महाधिवेशनसम्बन्धी मुद्दा पुनरवलोकनको अवस्थामा रहेकाले आफूहरू छुट्टै महाधिवेशन गर्न बाध्य भएको देउवा पक्षको दाबी छ।