काठमाडौं । भोटेकोशी बाढीपछि मृत्यु भएका तथा पहिचान हुन नसकेका व्यक्तिको पहिचानका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। परराष्ट्र मन्त्रालयका अनुसार पीडितको पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग र अमेरिकासँग डीएनए परीक्षणमा सहयोग मागिएको छ।


सोमबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पहिचान प्रक्रियालाई प्रभावकारी बनाउन चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण उपलब्ध गराउनसमेत अनुरोध गरिएको जानकारी दिए। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री आउने अपेक्षा गरिएको छ।


बाढीपछि उद्धार तथा राहतका लागि भारत, चीन, फ्रान्स, अमेरिका, यूएई, दक्षिण कोरियालगायत देशबाट उपकरण तथा सामग्री प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ। उद्धार उपकरण, फ्रिजर, सौर्य बत्ती, परीक्षण किट, चेन, कम्बल, स्लीपिङ ब्याग, खाद्यान्न र औषधि सहयोगमा आएका छन्। भारतको विशेष उद्धार टोली प्रभावित क्षेत्रमा खटिएको छ भने दक्षिण कोरियाली टोली पनि घटनास्थलमा परिचालित छ।


मन्त्रालयले अबको चुनौती उद्धारपछि पीडितको पहिचान र पुनःस्थापना रहेको जनाएको छ। बाढीबाट क्षतिग्रस्त घर, सडक, पुल, जलविद्युत् तथा अन्य पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक स्रोतको मूल्यांकन गरी अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन गर्ने सरकारको तयारी छ।