काठमाडौं ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारजनले काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन्।
बाढी आएको केही दिन बितिसक्दा पनि आफ्ना मान्छेको अवस्था थाहा नभएपछि आफन्तहरू अस्पताल पुगेर खोजी गरिरहेका छन्। अस्पतालका भित्ताहरू अहिले हराइरहेका व्यक्तिका तस्बिरले भरिएका छन्।कसैको हातमा आफ्ना बुबाको तस्बिर छ, कसैसँग आमाको। कसैले श्रीमान् खोजिरहेका छन् भने कसैले सन्तानको तस्बिर बोकेर अस्पताल पुगेका छन्।
तस्बिरमुनि नाम, उमेर र पहिचान खुल्ने विवरण राखिएका छन्। अस्पताल आउने–जाने प्रत्येक व्यक्तिको नजर ती पोस्टरमा पुग्छ। आफन्तहरू भने कुनै अपरिचित शवमा आफ्नै मान्छेको अनुहार भेटिन्छ कि भन्ने आशामा अस्पताल परिसरमा भौँतारिइरहेका छन्।
भोटेकोशीको बाढीले धेरै परिवारलाई एकैपटक उजाडेको छ। कतिपयले आफ्ना आफन्त गुमाइसकेको पुष्टि पाइसकेका छन् भने कतिपय परिवार अझै ‘बेपत्ता’ शब्दमै अड्किएका छन्।
मृत्युको खबर सुन्नुभन्दा पनि कहिलेकाहीँ खबर नै नआउनु झन् पीडादायी हुन्छ। त्यसैले आफन्तहरू तस्बिर बोकेर अस्पतालदेखि उद्धार केन्द्रसम्म पुगिरहेका छन्। टिचिङ अस्पतालको भित्तामा टाँसिएका ती तस्बिर अहिले केवल पोस्टर होइनन्। ती प्रत्येक परिवारको आशा, पीडा र प्रतीक्षाका कथा बनेका छन्।






































