नुवाकोट ।रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका बालबालिकालाई नुवाकोटको विदुरस्थित करुणा केयरको होल्डिङ सेन्टरमा राखिएको छ।
विपद्को त्रास र कठिन परिस्थितिबाट गुज्रिएका बालबालिका अहिले सुरक्षित वातावरणमा बसिरहेका छन्। केही दिनअघिसम्म बाढीको त्रासमा रहेका उनीहरू अहिले साथीहरूसँग खेल्दै, हाँस्दै र रमाउँदै समय बिताउन थालेका छन्।
होल्डिङ सेन्टरमा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको छ। उनीहरू क्यारेम्बोड खेल्दै, साथीहरूसँग रमाउँदै र खेलकुदमा सहभागी हुँदै बिस्तारै सामान्य दैनिकीमा फर्किने प्रयास गरिरहेका छन्।
बाढीले घरबास र पारिवारिक वातावरणबाट टाढा पुर्याएका यी बालबालिकाका लागि अहिले होल्डिङ सेन्टर अस्थायी आश्रय मात्र नभई सुरक्षित भएर बाल्यकालका केही खुसीका क्षण बिताउने ठाउँ बनेको छ।
उद्धारपछि उनीहरूको सुरक्षा, हेरचाह र आवश्यक सहयोगमा सम्बन्धित निकाय तथा संस्थाहरू जुटिरहेका छन्। विपद्का कारण मानसिक रूपमा परेको असर कम गर्न बालबालिकालाई खेल, मनोरञ्जन र सामूहिक गतिविधिमा सहभागी गराउनु पनि महत्वपूर्ण मानिएको छ।






































