बाजुरा / प्रसिद्ध धार्मिक स्थल बडीमालिकामा जनैपूर्णिमा मेलाका अवसरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी तीर्थयात्री लाभान्वित भएका छन्।

bajura 1


bajura 2 1


त्रिवेणी नगरपालिकाले भदौ ५ देखि १२ गतेसम्म सञ्चालन गरेको शिविरमार्फत बडीमालिका, नाटेश्वरी र त्रिवेणी क्षेत्रमा गरी १ हजार १६९ जनालाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिएको हो। शिविरमा ज्वरो, रुघाखोकी, लेक लाग्ने समस्या लगायतका बिरामीको उपचार गरिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।


bajura 3 1


मेलाका  क्रममा लेक लागेर बिरामी परेका दुई जनालाई थप उपचारका लागि अस्पताल र हेलिकप्टरमार्फत सुर्खेत पठाइएको थियो। समुद्री सतहबाट करिब ४,२०० मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण हरेक वर्ष हजारौँ तीर्थयात्री तथा पर्यटकको आकर्षणको केन्द्र बन्दै आएको छ।

पछिल्लो समय यहाँ फोरजी सेवा विस्तार भएसँगै पर्यटकको आगमनसमेत बढ्दै गएको छ।