काठमाडौं । बाढीमा मृत्यु भएकाको शव व्यवस्थापनबारे सरकारलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएको भोलिपल्टै रसुवा सरुवा भएका सहसचिव कोशहरि निरौला अब टिमुरे जाने तयारीमा छन्। सरुवालाई लिएर सरकारमाथि प्रतिशोधको आरोप लागिरहे पनि निरौलाले भने निर्णयप्रति असन्तुष्टि नरहेको बताएका छन्।


भोटेकोशी बाढीपछि पहिचान हुन नसकेका शव व्यवस्थापनको जिम्मेवारीसहित उनलाई टिमुरे केन्द्र बनाएर काजमा खटाइएको हो। कोभिडकालमा मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापन गरेको अनुभवका आधारमा उनले मृतकका आफन्तको भावना, धर्म र संस्कारलाई ध्यान दिनुपर्ने भन्दै शव हतारमा नगाड्न, ठूला फ्रिज तथा आवश्यक सामग्रीको व्यवस्था गर्न र आफन्तलाई अन्तिम संस्कारमा सहभागी हुने अवसर दिन सरकारलाई सुझाव दिएका थिए।

त्यसको भोलिपल्टै सरुवा भएपछि निर्णयमाथि प्रश्न उठे पनि निरौलाले आफूलाई सरुवा किन गरियो भन्नेबारे थाहा नभएको बताए। ‘सरकारले जहाँ खटाएको छ, त्यहाँ गएर आफ्नो ड्युटी पूरा गर्छु’ भन्दै उनले टिमुरे जाने बताएका छन्। निरौला शव व्यवस्थापनका विशेषज्ञ नभए पनि सम्बन्धित निकायबीच समन्वय र सहजीकरण गर्न सक्ने बताउँछन्। यद्यपि, अहिले टिमुरेसम्म कसरी पुग्ने, त्यहाँ आफ्नो कार्यक्षेत्र र कसलाई रिपोर्ट गर्ने भन्ने विषय स्पष्ट नभएको उनको भनाइ छ।

२०५२ सालमा नायब सुब्बाबाट सरकारी सेवामा प्रवेश गरेका निरौला गृह प्रशासनका अनुभवी कर्मचारी मानिन्छन्। उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय तथा अध्यागमन विभागलगायतका महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। सरकारले भने उनलाई प्रशासनिक अनुभवका आधारमा विपद्पछिको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनमा सहजीकरण गर्न रसुवा पठाइएको जनाएको छ।