काठमाडौं । सुनसरीको देवानगञ्ज घटनापछि तराईका जिल्लामा बढेको संवेदनशील अवस्थाबीच सप्तरीले शान्ति र सहअस्तित्वको सन्देश दिएको छ। राजबिराज र बोदेबरसाईनमा हिन्दु–मुस्लिम समुदाय, राजनीतिक दल र स्थानीय सरोकारवालाले संयुक्त रूपमा सद्भाव -याली निकाल्दै सामाजिक एकता कायम राख्न आह्वान गरेका छन्। 


राजबिराजमा शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सप्तरी को आयोजनामा र बोदेबरसाईनमा नगरपालिकाको नेतृत्वमा -याली सम्पन्न भएको हो। -यालीमा “सामाजिक सद्भाव कायम गरौँ, आपसी भाइचारा बलियो बनाऔँ र एकअर्काको सम्मान गरौँ” भन्ने सन्देश प्रवाह गरिएको थियो।

-यालीमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार, धार्मिक अगुवा तथा हिन्दु र मुस्लिम समुदायका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। बोदेबरसाईनको कार्यक्रममा प्रदेशसभा सदस्य अनिरुद्ध सिंह यादव र नगरप्रमुख आतेश कुमार सिंह पनि सहभागी भएका थिए। -यालीमा सहभागीहरूले कुनै पनि विवाद वा द्वन्द्वको समाधान हिंसाबाट सम्भव नहुने भन्दै संयम, संवाद र सामाजिक सहकार्य नै स्थायी समाधानको आधार भएको बताएका छन्।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले देवानगञ्ज घटनापछि समाजमा फैलिन सक्ने अविश्वास र तनाव कम गर्न सबै समुदायलाई एउटै मञ्चमा उभ्याएर सद्भावको सन्देश दिन ¥याली आयोजना गरिएको बताए।देवानगञ्ज घटनापछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै राजबिराज र बोदेबरसाईनमा जारी गरिएको कफ्र्यु क्रमशः सामान्य बन्दै गएको छ। स्थानीयवासीले पनि यस्तो सद्भाव अभियानले समुदायबीच विश्वास पुनःस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरेका छन्।


देवानगञ्ज घटनाले उत्पन्न गरेको तनावबीच सप्तरीबाट आएको यो सन्देशले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता नै शान्तिको आधार भएको देखाएको छ। स्थानीय तहदेखि समुदायसम्मको संयुक्त पहलले परिस्थितिलाई सामान्य बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।