चितवन । चितवनमा प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा छापा मार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक स्थानीय कार्यकर्तासहित ११ जनालाई नियन्त्रणमा लिएको छ।
भरतपुर महानगरपालिका–१० स्थित एक खाजा घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नगद, तासका बुक र मोबाइलसहित नियन्त्रणमा लिएको हो। घटनास्थलबाट ७१ हजार ५१५ रुपैयाँ नगद, चार बुक तास तथा प्रयोग भइरहेका मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रास्वपा भरतपुर–८ का समिति सदस्य मनोज पौडेल सहित खाजा घर सञ्चालक र अन्य सहभागी रहेका छन्। उनीहरूमाथि जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।यता, रास्वपा चितवन नेतृत्वले पक्राउ परेका मनोज पौडेल पार्टीका कार्यकर्ता भएको स्वीकार गरे पनि उनी कुन परिस्थितिमा पक्राउ परेका हुन् भन्नेबारे आधिकारिक जानकारी नआएको जनाएको छ।
प्रहरीले पछिल्लो समय सार्वजनिक स्थल र होटल–खाजा घरलाई लक्षित गर्दै जुवातास नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ। यस घटनालाई पनि सोही अभियानअन्तर्गत गरिएको कारबाहीका रूपमा हेरिएको छ।






































