काठमाडौं / काठमाडौं उपत्यकामा सिरियल रूपमा भइरहेका सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा विभिन्न मिति र समयमा भएका चेन स्न्याचिङ सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेको जनाएको हो । प्रहरीका अनुसार उक्त समूहले विशेषगरी महिला तथा वृद्धाहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको पाइएको छ ।

प्रतिकार गर्न खोज्ने पीडितलाई घाँटी थिच्ने, कुटपिट गर्ने तथा घाइते बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।विगतका गुण्डागर्दी, चोरी तथा लुटपाटसम्बन्धी घटनाहरूको प्रोफाइलिङ र विश्लेषणका आधारमा प्रहरीले समूहका सदस्यहरूको पहिचान गरी खोजी थालेको थियो । यसक्रममा कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका सिक्री लुटपाटका घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा चार जनालाई गत साउन १५ गते काभ्रेपलाञ्चोकको बनेपाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा समूहका नाइके सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भई काठमाडौंको बौद्ध बस्ने ३४ वर्षीय कर्मा तामाङको पहिचान भएपछि प्रहरीले उनको खोजी थालेको थियो । प्रहरीका अनुसार साउन १६ गते राति १०ः२५ बजे काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित गाम्चाको पानी ट्याङ्की नजिकबाट कर्मा तामाङलाई नियन्त्रणमा लिइएको हो । प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमणको प्रयास गरेको जनाएको छ ।

प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गर्दा पनि आक्रमणको प्रयास जारी राख्दै मोटरसाइकलमा भाग्न खोजेपछि घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । घटनास्थलबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान खुकुरी, मोटरसाइकलका विभिन्न पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने टी–लक र मास्टर की लगायतका सामग्री बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार कर्मा समूहले विशेषगरी २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी प्रयोग गर्ने गरेको खुलेको छ । चोरी गरिएका मोटरसाइकलको तत्काल नम्बर प्लेट परिवर्तन गरी सिक्री तथा गरगहना लुटपाटमा प्रयोग गर्ने र घटनापछि पुनः स्वरूप परिवर्तन गरी उपत्यका बाहिर लगेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।