विराटनगर । विराटनगरका उद्योगी तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा प्रहरीले सोमबार बिहान करिब पाँच घण्टा लामो खानतलासी गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमा ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि कुनै पनि अवैध नगद, कागजात वा अन्य आपत्तिजनक सामग्री फेला नपरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालको नेतृत्वमा बिहान करिब ४ बजेदेखि सुरु भएको अपरेसनमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीका प्रहरी परिचालन गरिएको थियो। खानतलासीका क्रममा मुन्दडाको विराटनगर–७ स्थित निवासदेखि कार्यालयसम्म विस्तृत खोजतलास गरिएको थियो। केही समय गोल्छा चोकदेखि जिल्ला प्रशासन कार्यालयतर्फ जाने सडकसमेत नियन्त्रणमा लिइएको थियो।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खानतलासी गरिएको भए पनि सूचना पुष्टि हुन सकेन। एसपी कटवालले घर र कार्यालयको विस्तृत जाँच गर्दा कुनै पनि आपत्तिजनक सामग्री बरामद नभएको बताएका छन्। प्रहरीले भने सूचनाको प्रकृति वा अनुसन्धानको विषय सार्वजनिक गरेको छैन।
यद्यपि प्रहरी स्रोतका अनुसार मुन्दडाको निवासमा ठूलो परिमाणमा अवैध नगद राखिएको हुन सक्ने आशंकापछि अपरेसन सञ्चालन गरिएको थियो। केही स्रोतले हुण्डी कारोबार वा कर छलीसम्बन्धी सूचनाको पनि चर्चा गरेका छन्। तर यी विषयमा प्रहरीले कुनै आधिकारिक पुष्टि गरेको छैन।
प्रहरीको कारबाहीपछि उद्योग तथा व्यवसायिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ। यति ठूलो सुरक्षा अपरेसन सञ्चालन गरिए पनि कुनै प्रमाण फेला नपरेपछि अनुसन्धानको आधार र सूचनाको विश्वसनीयतामाथि समेत प्रश्न उठ्न थालेका छन्।
उद्योगी प्रकाश मुन्दडाले प्रहरीलाई अनुसन्धानमा पूर्ण सहयोग गरेको जनाउँदै घर र कार्यालयको सम्पूर्ण भागमा खोजतलासी हुँदा पनि कुनै गैरकानुनी सामग्री फेला नपरेको बताएका छन्।
देवनरा समूहका अध्यक्ष रहेका मुन्दडाले चाँदीको कारोबारसँगै बाबा आयल र हाइलाइफ चप्पल उद्योग सञ्चालन गर्दै आएका छन्। प्रहरीले भने अनुसन्धानसँग सम्बन्धित थप विवरण सार्वजनिक गरेको छैन।






































